कतारमा एकैदिन ६ नेपाली फिल्म


quatar_home_400कतारमा पहिलोपटक आयोजित आदिवासी चलचित्र महोत्सवमा एकैदिन ६ वटा नेपाली चलचित्र प्रदर्शन गरिएका छन् । खाडीको चर्को घाम छिचोल्दै कतारको एयर कन्डिसनजडित फिल्म हलमा दिनभर नेपाली सिनेमाले प्राथमिकता पाए ।

महोत्सवमा नेपाली आदिवासी जनजाति संस्कृति र जनजीवन समेटिएका 'नुमाफुङ' -लिम्बू), 'बुर्‍हान' -थारू), 'सिम्मा' -राई), 'गोवेदा' -तामाङ), 'कृपा' -गुरुङ) र 'आशे' -मगर) पालैपालो प्रदर्शन भए । शुक्रबारको छुट्टीको दिन पारेर दोहा फिल्म हलमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म -झन्डै डेढ घन्टा उद्घाटन कार्यक्रम) लगातार फिल्म देखाइएको थियो ।

नेपाल प्रवासी आदिवासी जानजाति महासंघ कतारले आदिवासी फिल्म आरकाइभ -आइफा) को संयोजनमा महोत्सव गरेको हो । ५० रियाल -एक हजार रुपैयाँ) को टिकट काटेपछि चाहेजति फिल्म हेर्न पाउने व्यवस्था गरिएको थियो । ११ सय सिट क्षमताको हलमा करिब ७ सय दर्शकले फिल्म हेरे । 'महोत्सव मार्फत कतारका धेरै समुदायमा हामी पुगेको ठानेका छौं,' महासंघका अध्यक्ष मानबहादुर सावा लिम्बूले भने, 'महोत्सवको प्रभावस्वरूप कतारबाट प्रसारण हुने अल-जजिराको अरबी च्यानलले नेपाली आदिवासी चलचित्रहरू मगाएको छ ।'

महोत्सव उद्घाटन गर्दै कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रले महोत्सवले सांस्कृतिक कूटनीति -कल्चरल डिप्लोम्यासी) बढाउन सघाउ पुर्‍याउने बताए । 'संस्कृति कुनै पनि मुलुकको पहिचान हो, विदेशी भूमिमा कला संस्कृतिको संरक्षण- संवर्द्धन र सांस्कृतिक कूटनीतिमा सघाउन यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्छ ।' महोत्सवमा गैर जानजाति दर्शक पनि थिए । 'नुमाफुङ' र 'कृपा' नेपाली भाषामा र अरू चार चलचित्र मातृभाषामा देखाइएको थियो । 'सिम्मा', 'बुर्‍हान', 'आशे' र 'गोदेवा' को नेपालीमा सब-टाइटल थियो भने 'नुमाफुङ' र 'कृपा'को अंग्रेजीमा ।

'आफ्नै संस्कृतिको फिल्म हेर्न पाएको थिइनँ,' सप्तरी हरिपुरका इन्जिनियर विद्यानन्द चौधरीले 'बुर्‍हान' हेरेपछि भने, 'प्रयास राम्रै गरेको रहेछ ।' थारू कल्याणकारिणी सभा कतारका अध्यक्ष समेत रहेका चौधरीले अरू भाषाको पनि पाँचवटा फिल्म हेरे । प्रवासमा कार्यरत नेपालीलाई महोत्सवले सांस्कृतिक रूपमा संगठित हुन नेपाली आदिवासी संस्कृति अन्तर्राष्ट्रियकरण गर्न सघाएको दाबी गरे । केही दर्शक तथा आयोजक जातीय वेशभूषामा सजिएका थिए ।

आयोजकले १६ हजार रियाल -३ लाख २० हजार रुपैयाँ) खर्चेर १२ घन्टाका लागि हल बुकिङ गरेकोमा टिकट बिक्री र चलचित्र प्रायोजनबाट महोत्वसको सबै खर्च धानेको बताएको छ । महोत्सवकै लागि काठमाडौंबाट आइफामा सचिव सन्जोग लाफा मगर आइपुगेका थिए । आदिवासीको मौलिक ज्ञान, सीप र संस्कृति लोप भयो भने त्यो आदिवासीको मात्र सिंगो राज्यकै लोप हुने दाबी गर्दै उनले यसप्रति राज्यले पनि ध्यान दिनुपर्ने बताए । उनले यही कुरा बुझाउन पनि सबैले छिटो बुझ्ने माध्यम फिल्म महोत्वसमा जोड दिएको खुलाए ।

Leave a Reply